सिमरा, २३ फाल्गुन
सशस्त्र प्रहरीको एपिएफ क्लबलाई स्तब्ध पार्दै रुपन्देही ११ सिमरामा जारी सातौं सिमरा गोल्डकप फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा आईतवार भएको प्रिक्वार्टर फाईनल खेलमा एपिएफलाई २–१ ले पराजित गर्दै रुपन्देही अन्तिम आठमा प्रवेश गरेको हो । रुपन्देहीलाई जित दिलाउने क्रममा म्यान अफ दि म्याच घोषित योगेश गुरुङ र बुद्ध चेमजोङले गोल गरे । एपिएफका लागि भने गणेश लावतीले गोल फर्काए ।
हारको बदला
जित संगै रुपन्देहीले शसस्त्र प्रहरी संग शुक्रबार मोरङको विराटचोकमा सम्पन्न कङदङवा गोल्डकपको फाइनलमा ब्होरेको हारको बदला लिएको छ । मोरङमा एपिएफले रुपन्देहीलाई सडेन डेथमा पराजित गर्दै कङदङवा गोल्डकप जितेको थियो ।
रुपन्देहीको शुरुवाती अग्रता
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमै रुपन्देहीले अग्रता लिएको थियो । खेलको ४६ औ मिनेटमा योगेश गुरुङको आकर्षक गोलले रुपन्देही अग्रता लियो । डिबक्स बाहिरै बाट योगेशले गरेको प्रहार पोष्टमा लाग्दै जाली चुम्न सफल भएको थियो । डिबक्स बाहिर बाटै उनले हानेको प्रहार फस्ट बारमा लागेर सेकेण्ड बारमा ठोक्किंदै गोलमा परिणत भएको थियो ।
रुपन्देहीको तुलनामा सन्तुलित प्रदर्शन गरेको एपिएफले खेलको ५८ औ मिनेटमा बराबरी गोल फर्कायो । राजेन्द्र रावलको क्रसलाई सदुपयोग गर्दै लावतीले उत्कृष्ट गोल गरेको थियो । खेलको सुरुवातदेखीनै रुपन्देहीलाई दवावमा राखेपनि अवसरको सदुपयोग गर्न नसकेको एपिएफको गोलसंगै खेल निकै रामोञ्चक बन्न पुग्यो । खेलमा रुपन्देहीले एपिएफका स्ट्राईकर अन्जन बिष्ट र गणेश लावतीको थुप्रै प्रयास बिफल तुल्याएका थिए । रुपन्देहीले पनि केही अवसर गुमाउन पुग्दा निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको १०५ औ मिनेटमा रुपन्देहीका लागि बुद्ध चेमजोङले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्स बाहिरबाट चेमजोङले गरेको प्रहार रोक्न एपिएफका गोलरक्षक अमृत चौधरी पूर्णरुपमा असफल बनेका थिए । चेमजोङको प्रहार पोष्टमा लागेर जाली चुम्न पुगेको थियो ।
अतिरिक्त समयमा अग्रता लिएपछि रक्षात्मक खेल खेलेको रुपन्देहीले एपिएफलाई दवावमा राख्दै नजिता आफ्नो पक्षमा पा¥यो । खेलको म्यान अफ दि म्याच रुपन्देहीका योगेश गुरुङ घोषित भए ।
खेलाडीले आराम पाएनन – सिंह
टिमको पराजयपछि एपिएफका प्रशिक्षक जनक सिंहले केही अवसर गुमाउन पुग्दा टिमले हार ब्यहोर्नुपरेको बताए । खेलाडीले आराम नपाएका कारण पनि सोचेजस्तो प्रदर्शन हुन नसकेको उनको भनाई थियो । ‘हामी एक साता देखी निरन्तर खेलीरहेका छौं, खेल र यात्राका कारण हाम्रा खेलाडी थकित थिए’ उनले भने । राम्रो खेल्दा खेल्दै पनी हार्नु दुर्भाग्य जस्तो भएको उनको प्रंतिकृया थियो ।
लकले साथ दियो – खडका
रुपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले टिमको जितबाट सन्तुष्ट रहेको बताए । जितसंगै धरानमा ब्यहोरेको हारको बदला समेत लिएको उनको भनाई थियो । ‘सेट टिमका केही खेलाडी विनानै हामीले एपिएफलाई हरायौं’ उनले भने । एपिएफको तुलनामा कमजोर प्रदर्शन गरेको भएपनी अन्तिममा स्कोर आफ्नो पक्षमा आउन भाग्यले साथ दिएको उनले बताए । ‘हामीलाई आज लकले पनी फेभर गरेको हो’ खडकाले भने ।
जितसंगै क्वार्टरफाईनलमा पुगेको रुपन्देहीले सेमिफाईनल प्रवेशका लागि अब मनाङ मस्र्याङदी क्लबसंग खेल्नेछ । प्रतियोगिता अन्र्तगत सोमबार थ्रिस्टार क्लब र बिभागिय टिम नेपाल आर्मी क्लबबिच हुनेछ ।
केही असफल प्रयास
खेलको १५ औं मिनटमा एपिएफका अन्जन विष्ट अग्रता लिन चुके । डिबक्स भित्र गणेश लावतीले निकालेको पासलाई उनले सदुपयोग गर्न सकेनन् । पेनाल्टी एरियामै पाएको अवसर क्रसबार हुँदै बाहिरीयो ।
२३ औं मिनटमा अन्जन बविष्टको क्रसबलमा गणेश लावतीले गोल प्रयास गरेपनी सफल भएनन् । गणेशको हेडिङ फस्टबारमा लागेर बाहिरीँदा रुपन्देहीका डिफेण्डरले गोल सम्भावना टारे ।
खेलको २५ औं मिनटमा रुपन्देहीका योगेश गुरुङको शसक्त प्रहार एपिएफका रक्षकले बचाए । गणेश खडकाको क्रसमा उनले हानेको प्रहार एपिएफका रक्षक अमृत चौधरीले बचाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा एपिएफका राजेन्द्र रावलको क्रसमा डि बक्स भित्र अन्जनले प्रहार गरेको भली रुपन्देहीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
७५ औं मिनटमा अन्जनको पासलाई सदुपयोग गर्ने सन्तोष श्रेष्ठको प्रयास विफल भयो । २० याडबाट उनले हानेको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरीयो ।






























































































































