थ्रिस्टार क्लबलाई स्तब्ध पार्दै साविक बिजेता त्रिभुवन आर्मी क्लब सिमरामा जारी सातौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको क्वार्टरफाईनल खेलमा थ्रिस्टार क्लबलाई पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । आर्मीले अब फाईनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमी फाईनलमा विजय युथ क्लब हेटौंडा संग खेल्नेछ ।
राष्ट्रिय लिगको उपबिजेता समेत रहेको आर्मीलाई सेमी फाईनलमा पु¥याउन बिकास तामाङले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा बिमलको कर्नर बललाई सदुपयोग गर्दै बिकासले गरेको गोल निर्णायक बन्न पुग्यो । २ मिनट थपिएको इन्जुरी समयको पहिलो मिनटमा विमलले हानेको कर्नर बल पेनाल्टी एरियामा ड्रप भएको थियो । थ्रिस्टारको रक्षापंक्तीलाई छिचोल्दै विकासले उत्कृष्ट गोल गरे ।खेलको सुरुवातदेखी आक्रामक खेल खेल्दै आर्मीले थ्रिस्टारलाई दवावमा राखेको थियो । राष्ट्रिय टिमका केही मुख्य खेलाडी सहभागी भएको आर्मीबिरुद्ध थ्रिस्टारको खेल आकर्षक रहन् सकेन् । खेलको सुरुवातदेखीनै आपसी तालमेल मिलाउन नसकेको थ्रिस्टारले आकर्षक अवसरनै सिर्जना गर्न नसक्दा पहिलो हाफ १–० को स्थितीमा सकिएको थियो ।
विकेशले पेनाल्टी रोके
खेलको अन्तिम समयसम्म पनि आर्मीबिरुद्ध राम्रा अवसर बनाउन नसकेको थ्रिस्टारले खेलको ८६ औ मिनेटमा पेनाल्टीबाट खेल बराबरी गर्ने मौका चुकायो । आर्मीका बिकास तामाङले सेगन ईतापायोलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा थ्रिस्टारका पिटर सेगन गोल गर्न चुके । पिटरको प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले बचाउ गर्दै टिमको जित सुनिश्चित पारेका थिए । पिटरको शशक्त प्रहार आर्मीका गोलकिपर विकेश कुथुले एउटै हातले पन्च गरेका थिए ।
नवयुग घाइते
थ्रिस्टारलाई लगातार दवावमा राखेको आर्मीका नवयुग श्रेष्ठ खेलको ७८ मिनेटमा घाईते भए । थ्रिस्टारका अफ्रिकी खेलाडी पिटर सेगनले बल हान्ने क्रममा बुटले लागेर नवयुगको टाउकोमा चोट लागेको हो । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ । सिमरा स्थित तराई सिमरा हस्पिटलमा उपचार पछि फर्किएका नवयुगको टाउकोमा ८ टाँका लगाईएको भएपनी बुधबार हुने सेमी फाईनलमा नवयुगले खेल्न सक्ने प्रशिक्षक मेघराज केसीले बताए ।
अघिल्लो संस्करणको बदला लिन सकेन
त्रिभुवन आर्मी संग अघिल्लो संस्करणमा व्यहोरेको लज्जास्पद पराजयको बदला लिने दाउँमा रहेको थ्रिस्टारले बदला चुक्ता गर्न सकेन । गत बर्ष सम्पन्न सिमरा गोल्डकपको छैठौं संस्करणको क्वाटर फाईनलमा आर्मी संग थ्रिस्टारले ५–१ गोल अन्तरको लज्जास्पद हार व्यहोरेको थियो ।
ग्योतोकु कोजी सिमरामा
सोमबार आर्मी र थ्रीस्टार विचको पुरै खेल नेपालका लागि नवनियुक्त प्रशिक्षक ग्योतोकु कोजीले पनी हेरे । एन्फाका उपाध्यक्ष सन्जीव मिश्रा संगै काठमाण्डौंबाट सिमरा आएका कोजीले रङगशालामा बनाईएको मञ्चमा बसेर पुरै खेल हेरेका थिए । उनी केहि दिन सिमरामा रहने र सिमरा गोल्डकपमा नेपाली खेलाडीको खेल हेर्ने आयोजक क्लबका सचिब शम्भु ठकुरीले जानकारी दिए । खेलको म्यान अफ दि म्याच विमल घर्ती मगरलाई उनलेनै ट्रफि प्रदान गरेका थिए । नेपालका लागि नवनियुक्त प्रशिक्षक कोजीलाई सिमरा विमानस्थलमा नवजनजागृती युवा क्लबले भव्य स्वागत गरेको थियो । कोजीलाई क्लबका अध्यक्ष कासीम मियाँ लगायतले स्वागत गर्दै सफ कार्यकालको शुभकामना दिएका थिए ।
खेलाडीलाई प्रशिक्षण पुगेन – तामाङ
टिमको पराजयपछि स्तब्ध बनेका थ्रिस्टारका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । आर्मीको खेल आफ्नो टिमको तुलनामा निकै राम्रो रहेको उनको भनाई थियो । आफ्ना खेलाडीलाई प्रशिक्षणको अभावमा टिम राम्रो बनाउन नसकेको उनले बताए । आर्मी संग खेल्नु चुनौतीपुर्ण रहेको उनको प्रतिकृया थियो । ‘आर्मीको तुलनामा हामी प्रशिक्षण, फिटनेस सबैमा कम छौं, आर्मी नियमित अभ्यासमा रहन्छ’ उनले भने ।
आर्मीको किपर देखेर थ्रिस्टार आतियो – केसी
आर्मीका प्रशिक्षक मेघराज केसीले जितबाट खुशी भएपनि केही राम्रा अवसर चुकाउन पुग्दा अन्तिम समयसम्म संघर्ष गर्नुपरेको बताए । ‘धेरै अवसर गुमाउँदा पनी जित निकाल्न सक्यौं, त्यो नै ठुलो हो’ उनले भने । थ्रिस्टारका खेलाडी आफ्नो टोलीका गोलरक्षक देखेरै नर्भस भएको उनको भनाई थियो । ‘पछिल्लो समय विकेशको प्रदर्शनका कारणनै विपक्षी टिम आतीन्छन, थ्रिस्टारलाई पनी आज त्यही भयो’ उनले भने ।
प्रतियोगिता अन्र्तगत मंगलवार दुई पटकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब र रुपन्देही ११ बिच हुनेछ । मनाङले प्रतियोगितामा बाई पाएको हो भने रुपन्देहीले आईतवार बिभागिय टिम नेपाल एपिएफ क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।















































































































































































